युक्रेनबाट विस्थापित भएका हजारौं बालबालिकालाई पोल्यान्डका विद्यालयमा भर्ना गरिने

युक्रेनबाट विस्थापित भएका हजारौं बालबालिकालाई पोल्यान्डका विद्यालयमा भर्ना गरिने



काठमाडौं । स्वदेश फर्कने आशामा यसअघि पोल्यान्डकाे शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्यान्डका विद्यालयमा भर्ना गरिने भएको छ । नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय दुई वर्षदेखि विद्यालय गएका छैनन् । कतिपयले पहिलो पटक विद्यालय भर्ना हुन लागेका हुन् ।

पोल्यान्डमा शरणार्थी परिवारका लागि शिक्षा अनिवार्य गरिएको नयाँ कानून लागू हुने भएपछि यसअघि विद्यालय नगई बसेका झन्डै ८० हजार जना विद्यार्थी भर्ना हुने अपेक्षा गरेको पोल्यान्डका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२२ मा रुसी आक्रमणको शुरुआतमै युक्रेन छोडेकी १२ वर्षीया नादियाकी आमा मेरिना रूडले पोल्यान्डमा विद्यालयहरूमा युक्रेनी उच्चरण सुनेर हाँस्ने भएकाले छोरीलाई विद्यालय पठाउन नसकेको बताउनुभएको एएफपीले जनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको केही हप्तापछि पोल्यान्डले शरणार्थीहरूलाई आश्रय दिन आफ्नो सीमा खुला गरेको थियो । अहिले झन्डै एक लाख ३४ हजार जना बालबालिका पोल्यान्डमा विद्यालयमा पढ्ने र झन्डै ८० हजार जना विद्यालयबाहिर रहेका पोल्यान्डकाे अनुमान छ । धेरै युक्रेनीहरू घर फर्कने आशामा रहेका पनि एएफपीको खबरमा उल्लेख छ ।