ग्रामीण आवासबाट जग्गा हस्तान्तरण गराउन सांसद शर्माको समन्वयमा काठमाडौंमा विशेष बैठक

ग्रामीण आवासबाट जग्गा हस्तान्तरण गराउन सांसद शर्माको समन्वयमा काठमाडौंमा विशेष बैठक



काठमाडौं । ग्रामीण आवास कम्पनीसँग रहेको काँकडभिट्टाको जग्गा सम्बन्धित संस्था वा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिनु पर्ने विषयमा विशेष पहल शुरु भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवं झापा क्षेत्र नम्वर एकका सांसद विश्वप्रकास शर्माको पहलमा मंगलवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिंहको कार्यकक्षमा विशेष छलफल भएको छ ।

जग्गा हस्तान्तरण प्रक्रियामा रहेका कठिनाइहरुको विधिपूर्वक हल खोज्ने बिषयमा बैठकमा सहमति भएको छ । बैठकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, झापा १ का सांसद एवम् कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व शहरी विकास मन्त्री सीता गुरुङ, मेचीनगरका प्रमुख गोपाल बुढाथोकी, मेचीनगरका पूर्वप्रमुख विमल आचार्य, ग्रामिण आवास कम्पनीका महानिर्देशक रामकृष्ण निरौला, ग्रामिण आवास कम्पनीका अध्यक्ष संजिवकुमार मिश्र लगायत सहभागी हुनुहुन्थ्यो ।

ग्रामीण आवास कम्पनीसँग रहेको काँकडभिट्टाको जग्गा सम्बन्धित संस्था वा मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिनु पर्ने माग वर्षौँदेखि हुँदै आएको छ । ०७९ को निर्वाचन पश्चात् यस विषयमा विशेष पहल भइरहेको छ । तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङलाई सांसद शर्माकै निमन्त्रणामा काँकडभिट्टा बोलाएर स्थलगत भ्रमण र छलफल गत वर्ष नै गराइसकिएको छ ।

काँकडभिट्टा क्याम्पस, स्कुल, खेल मैदान, काँकडभिट्टा खानेपानी, सामुदायिक भवन, विपी–पुष्पलाल वाटिका, देवकोटा पार्क, मिनी मार्केट लगायतका जग्गाहरु ग्रामीण आवास कम्पनी अन्तर्गत रहेको छ ।