ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी बन्न सक्छ : मेयर महर्जन

ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी बन्न सक्छ : मेयर महर्जन



ललितपुर । ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताएका छन् ।

ललितपुर महानगर–१४ ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै मेयर महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराए । उनले त्यो पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्ने बताएका हुन् ।

मेयर महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको उल्लेख गरे ।

कार्यक्रममा महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरे ।

१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेको र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए ।