काठमाडौं । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । माओवादीले जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै बुधबारको संसद अवरुद्ध गरेको हो ।
सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअोवादी केन्द्रले संसद अवरोध गरेको हाे ।
सभामुख घिमिरेले एमाले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएका थिए ।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए । उनले संविधान र कानुनलाई हेरेर संघीय संसद सचिवालय अघि बढ्नुपर्ने पनि बताए ।
यसपछि एमाले सांसद रघुजी पन्त बोलेका थिए । उनले माओवादीकै नेताहरूले संसदमा धेरै पटक हिंसा शब्द प्रयोग गर्ने गरेको बताएका थिए । यसपछि माओवादी र एमाले सांसदहरूबीच वादविवाद भएको थियो ।
त्यसपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन् ।
सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्न पटक पटक आग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादीको अडान राखिरह्यो । त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे ।
सभामुख घिमिरेले सांसदहरूबाट सभा सञ्चालनमा सहयोग नभएको भन्दै बैठक स्थगित गरेका हुन् ।
‘सभा सञ्चालन गर्न सहयोग गर्नु भएन। त्यसले गर्दा कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराउँछु,’ उनले भने, ‘अब अर्को बैठक भदौ ३० गते आइतबार दिनको एक बजे बस्ने गरी स्थगित हुन्छ।’
प्रतिक्रिया