काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशन दिएको छ ।
बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई एक हप्ता काठमाडौं नछोड्न निर्देशनसहित सर्कुलर गरेका हुन् । कांग्रेसले एक हप्ता काठमाडौं नछोड्न र बाहिर भएको भए काठमाडौं आउन निर्देशनसहितको सन्देश पठाएको छ ।
यसअघि सरकारको नेतृत्वकर्ता दल एमालेले मंगलबार आफ्ना सांसदहरूलाई ३ असोजसम्म काठमाडौंमै रहन निर्देशन दिएको थियो । एमालेले महत्त्वपूर्ण केही विधेयक पास गर्नुपर्ने र बर्खे अधिवेशनको अन्त्य हुने भएकाले काठमाडौं नछोड्न सांसदहरूलाई सन्देश पठाएको थियो ।
सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । एमाले, कांग्रेससहितका सत्तारुढ दलका सांसदहरूले संसद सचिवालयमा उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । त्यसका लागि एमाले-कांग्रेसका सांसदहरूको हस्ताक्षर अभियान सुरु गरिएको छ ।
प्रतिक्रिया