जापानीज इन्सेफलाइटिसबाट १४ को मृत्यु

जापानीज इन्सेफलाइटिसबाट १४ को मृत्यु



काठमाडौं । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार विभिन्न जिल्लाबाट ६९५ जना जापानीज इन्सेफलाइटिसका शंकास्पद बिरामीको नमुना परीक्षण गर्दा हालसम्म ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये २२.९५ प्रतिशत अर्थात् १४ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा कैलाली, कपिलवस्तु, पाल्पा, चितावन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी र झापा जिल्लाका रहेका छन् ।
प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजा अनुसार नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरु पत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ ।

परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो ।

सरुवा रोज विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।

उनका अनुसार लामखुट्टेको टोकाइबाट बच्नुनै यस रोगबाट बच्ने प्रमुख उपाय हो ।