काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा नपुगेको बताएका छन् । शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए ।
महासचिव पोखरेलले भने, ‘यसमा नेकपा एमालेको मान्यता उहाँमाथि उठेका प्रश्नमा उहाँको पार्टी र उहाँ स्वयंले स्पष्ट गर्नुपर्छ’, महासचिव पोखरेलले भने, ‘उहाँका विषयमा उठेका कुरा सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । यद्यपि अहिले जसरी चर्चामा आइरहेका विषयमा के गर्ने भन्ने कुनै निष्कर्षमा पुगेका छैनौँ ।’
संसद्लाई कति मर्यादित बनाउने भन्ने संसद् र दलहरूले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहने पोखरेलको भनाइ छ ।
वार्षिक कार्ययोजना पारित
एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
वार्षिक कार्य योजनामा १८ विषय समेटिएका छन् । जसमा पार्टी सदस्यता नवीकरण,विस्तार र अभिलेखीकरणको कामलाई एमालेले कार्य योजनाको पहिलो विषय बनाएको छ ।
त्यस्तै नियमित रूपमा अधिवेशन र व्यवस्थापन अन्तर्गत बाँकी रहेका जिल्लाहरूको अधिवेशन कात्तिक महिनाभित्र सम्पन्न गर्ने एमाले कार्ययोजनामा समेटिएको छ । एमालेले सबै तहका अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गर्ने योजना बनाएको छ ।
पार्टी प्रवेश गरेका र अधिवेशनहरूबाट बिदा भएका नेता कार्यकर्ताहरूलाई तीन महिनाभित्र पार्टीका तर्फबाट यथोचित जिम्मेवारी दिन गृहकार्य गर्ने, पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कन विधि निर्माण गर्ने र कमिटीभित्रको अन्तर्विरोध व्यवस्थापनलाई आधार बनाएर कार्य योजना बनाएको छ ।
एमालेले प्रत्येक वर्ष पार्टीका सम्पूर्ण कार्यकर्ता स्कुलिङमा सामेल हुनुपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने विषय पनि कार्य योजनामा समेटिएको महासचिव पोखरेलको भनाइ छ ।
केन्द्रदेखि वडासम्मका पार्टी कार्यालयहरू व्यवस्थापन, प्रचारमा सोसल मिडिया परिचालन, कामका नयाँ क्षेत्र पहिचान र जिम्मेवारी, सबै तहका कमिटीमा वार्षिक बजेट तय गर्ने, पार्टी शुद्धीकरण अन्तर्गत जीवन शैली जनतामा स्वीकार्य हुनुपर्ने पनि एमालेको कार्य योजनामा छ ।
मिसन ८४ को लक्ष्य पुरा गर्न जनसङ्गठन परिचालन, प्रवासीहरूलाई देश हितका पक्षमा प्रयोग गर्ने, भवन निर्माण कार्य योजना, नियमित रिपोर्टिङ प्रणाली अघि सार्ने सोच अघि सारेको छ ।
त्यस्तै ४० वर्षमुनिका युवाहरूको ‘यूथ समिट’ गर्ने योजना समेत एमालेले बनाएको छ । बैठकले भाकपाका नेता सिताराम यचुरीको निधनप्रति दुःख व्यक्त गर्दै अन्तिम संस्कारमा वरिष्ठ नेता पोखरेल भारत जाने निर्णय एमालेले गरेको छ ।
प्रतिक्रिया