अब शिर ठाडो पारेर रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् : शिशिर खनाल

अब शिर ठाडो पारेर रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् : शिशिर खनाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने, ‘अब चोकमा, चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् । सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा उहाँको कुनै भूमिका नरहेको प्रस्ट पारेको छ ।’

सहकारी छानबिन समितिको प्रतिवेदनबारे संक्षिप्त ब्रिफिङ गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उनले उल्लेख गरे ।

उनले भने, ‘अब ८७ अर्बको बेथिति कसले गर्‍यो ? चिया पसलदेखि संसद् भवन सम्म त्यो पैसाको खोजी रास्वपाले गर्नेछ ।’

आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार पाँच सय जना प्रतिनिधि सहभागी छन् । भेलामा आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ ।

आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।

भोलिको कार्यसूचीमा प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने बेलुका सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र ठाउँ घोषणा गर्दै भेला भोलि सकिनेछ ।