सेनाको संख्या बढाएर १५ लाख पुर्‍याउन पुटिनको आदेश

सेनाको संख्या बढाएर १५ लाख पुर्‍याउन पुटिनको आदेश



काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको सैन्य संख्या १ लाख ८० हजारले बढाउन आदेश दिएका छन् । यससँगै सक्रिय सैनिकको संख्या १५ लाख पुग्ने छ । र, रुस चीनपछि सबैभन्दा धेरै सेना भएको दोस्रो मुलुक बन्ने छ ।

सरकारी वेबसाइटमा प्रकाशित सो आदेश डिसेम्बर १ देखि लागू हुने छ । जसअनुसार रुसको सम्पूर्ण सशस्त्र फौजको संख्या २३ लाख ८० हजार पुग्नेछ । प्रमुख सैन्य थिंक ट्यांक इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजको तथ्यांकअनुसार सो आदेश लागू भएपछि रुसले सक्रिय सैन्य संख्यामा अमेरिका र भारत दुवैलाई उछिन्नेछ ।

चीनसँग भने २० लाखभन्दा बढी सक्रिय सैनिक छन् । २०२२ को फेब्रुअरीमा युक्रेन आक्रमण सुरु गरेयता सैन्य संख्या बढाउने आदेश पुटिनले तेस्रोपटक दिएका हुन् । कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले घुसेर आक्रमण गरेपछिको अवस्थामा यो आदेश आएको हो ।

गत जुनमा पुटिनले युक्रेनसँगको युद्धमा करिब ७ लाख सैनिक सहभागी रहेको बताएका थिए । २०२२ को अन्त्यतिर रुसले ३० लाख जगेडा सैनिकलाई सेवामा भर्ती गरेको थियो । त्यसबाहेक स्वयंसेवक लडाकुमा रुस निर्भर रहँदै आएको छ । तर, यत्तिका धेरै सैनिकको खर्च धान्नेगरी रुससँग रक्षा बजेट नरहेको भन्दै कतिपय विश्लेषकले प्रश्न पनि उठाएका छन् ।