विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच छलफल तीव्र

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच छलफल तीव्र



काठमाडौं । बंगलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल शुरू भएको छ ।

गएको भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले गरेको शिष्टाचार भेटमा बिजुली व्यापारका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले त्यहाँको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुससँग हिजो मङ्गलवार गरेको भेटवार्तामा पनि यही विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि गएको असारमै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा सम्झौताको तयारी गरिए पनि विभिन्न कारणले तत्कालीन समयमा यसले मूर्तरूप लिन सकेको थिएन । यसअघि बङ्गलादेशले पहिलो चरणमा ४० मेगावाट बिजुली लैजान सहमति जनाइसकेको छ ।

पछिल्लो समय बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण नेपाल, भारत, बङ्गलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा सम्झौताको तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारले बिजुली लैजाने विषयमा सघन छलफल गरिरहेको र आवश्यक पहल गरिरहेको सन्दर्भमा अब छिट्टै सम्झौता हुने वातावरण निर्माण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।