राजनीतिक स्थिरताका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली

राजनीतिक स्थिरताका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै सो विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म हामी संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्छौँ । यसप्रति निश्चय नै राष्ट्रिय चासो छ । म विश्वास दिलाउन चाहन्छु, संशोधन प्रक्रियामा हामीले संसद्को गणितीय सङ्ख्या मात्र हेर्ने छैनौँ । सरकारमा रहेका पार्टीहरूको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ ।’

प्रधानमन्त्री भने, ‘संविधानलाई समयानुकूल बनाउनुपर्छ । समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो । मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म (लेटर एन्ड स्पिरिट) अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु हो ।’

जनताका अधिकारीलाई अझ सबल र प्रभावकारी बनाउन संविधान संशोधन गर्न लागिएको स्पष्ट गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई थाहा छ, एउटा नागरिकले संविधानको मर्मसँग आफ्नो भावनालाई साट्न खोज्छ । संविधानमा लेखिएको कुरा व्यवहारमा लागू होस् भन्ने चाहन्छ । नहुँदा आम नागरिक कहिलेकाहीँ निराश पनि हुन्छ । मैले संसदमा विश्वासको मत लिँदै गर्दा भनेको थिए २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको छ । म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौँ भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ ।’