किन पक्राउ परे दुर्गा प्रसाई ?

किन पक्राउ परे दुर्गा प्रसाई ?

दोषी ठहर भए १ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने



काठमाडौं । लामो समय जापान बसेर फर्किएकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पूर्जी जारी भएको ५ दिनपछि उनी पक्राउ परेका हुन् । प्रसाईलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न प्रहरी आएपछि गेट बन्द गरेर उनी घाम तापेर घरभित्रै बसेका थिए । तर प्रसाईलाई समाउन प्रहरी भर्‍याङ लगाएर घरको कम्पाउन्डभित्र छिरेको थियो । प्रहरीले पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा आइतबार नै उपस्थित गराइसकेको छ ।

प्रसाईलाई जुन अभियोगमा पक्राउ गरिएको छ, त्यो प्रमाणित भए १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने वरिष्ठ अधिवक्ता ईन्द्रशेखर खड्काले बताए । वरिष्ठ अधिवक्ता खड्काका अनुसार यस्ता मुद्दा विद्युतीय कारोबार ऐन (इलेक्ट्रोनिक) दफा ४७ को (१) र (२) आकर्षित हुन्छ ।

आरोपित दोषी ठहर भए दफा ४७ (१) अनुसार एक लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । यसैगरी (२) अन्तर्गत कसुर पटक पटक दोहोरिए अघिल्लो सजायको डेढी हुने व्यवस्था छ । वरिष्ठ अधिवक्ता खड्काले भने, ‘यो कसुरमा दोषी ठहर भए नैतिक पतन र फौजदारी संहिता आकर्षित हुन्छ । नैतिक पतन र फौजदारी संहिता जोडिएपछि निश्चित समयसम्म चुनाव लड्न नपाउने र विभिन्न सरकारी नियुक्तिलगायत अन्य धेरै कुराका लागि ऊ अयोग्य ठर्हछ ।

किन पक्राउ गरियो ?
आफूविरुद्धको पक्राउलाई प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दोषारोण गरेका छन् । वास्तवमा उनको यो पक्राउ राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा टेलिभिजन कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासँग जोडिएको देखिन्छ ।

गत साउन २० गते प्रसाईले दुईजना युटुबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग ज्वाला संग्रौलाविरुद्ध आपत्तिजनक अन्तरवार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईले बोलेका कुराहरु दुवै युटुबरले जस्ताको त्यस्तै आफ्नो युट्युब च्यानलमा प्रस्तुत गरेका थिए ।

प्रसाईले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक अभिव्यक्ति दिँदै साउन तेस्रो साता सार्वजनिक रुपमा उनको चरित्र हत्या गरेका थिए । यी दुई युटुबरलाई अन्तरवार्ता दिने क्रममा उनले ज्वालाले जापानमा बेश्यावृत्ति गरेको गम्भीर लान्छाना लगाएका थिए । उनीहरुले ज्वालाबारे हुँदै नभएको समाचारलाई भाइरल बनाएका थिए ।

जापानमा बेश्यावृत्तिमा संलग्न ज्वाला शीर्षकमा उनको तस्बिर राखेर बेइज्जत गर्न खोजिएको थियो । त्यसबेला प्रसाईंले ज्वालाको नाम त लिएनन्, तर विभिन्न सन्दर्भ जोड्दै जापानमा बेश्यावृत्ति गर्ने महिलाको संज्ञा दिएका थिए ।

यही प्रकरणमा ज्वालाको उजुरीपछि प्रसाई पक्राउ परेका हुन् । प्रसाईलाई पक्राउ गर्नुअघि प्रहरीले उनकै घरमा पाँच दिनसम्म निगरानीमा राखेको थियो ।

ज्वालाविरुद्ध किन लागे दुर्गा प्रसाई
साउन १८ गते ज्वालाले प्रसाईविरुद्ध एउटा विवादित भिडियो सामाजिक सञ्जालमा हालेकी थिइन् । जसमा दुर्गा प्रसाईले युएइबाट मृत्युदण्डको सजाय पाएर पनि फर्काइका पहलमान थापाको आफन्तले गरेको पत्रकार सम्मेलनको भिडियो थियो, त्यो पत्रकार सम्मेलनमा प्रसाईले आफूलाई बचाउन एक पैसा पनि खर्च नगरेको पहलमानले बताएका थिए । त्यसअघि पहलमानलाई लिन प्रसाई अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए । आफूले उद्दार गरेर ल्याएको भन्दै उनले अन्तरवार्तासमेत दिएका थिए । आफूले जुटाएको ब्लर्डमनीले पहलमानको ज्यान जोगिएको उनले बताएका थिए । तर उनको दाबी एक दिन पनि टिक्न पाएन । झुटो सावित भयो ।

भोलिपल्टै खास उद्दारमा जुटेकाहरुले प्रसाईको भनाइको खण्डनमात्र गरेनन् नक्कली समाजसेवी भनेर विरोध समेत गरेका थिए । त्यसबेला उनीहरुले प्रसाईबाट एक पैसा पनि नपाएको खुलासा गरेका थिए । आफ्नो चर्को विरोध भएपछि उनले ठिमीस्थित निवासमै पत्रकार सम्मेलन गरे । उक्त पत्रकार सम्मेलनमा उनले पैसा नदिए पनि अभियान चलाएर पैसा जुटाइदिएको दाबी गरे । त्यही क्रममा उनले ज्वालामाथि गम्भीर आरोप लगाएका हुन् ।

जापानमा लामो समय बसेर चार वर्षअघि नेपाल फर्किकी ज्वाला सामाजिक अभियान्तका रुपमा आफूलाई परिचित गराउँछिन् । दुई वर्षअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी थिइन् । त्यसपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेर केन्द्रीय सदस्य र रवि लामिछानेकी श्रीमति निकिता पौडेलले सञ्चालन गरेको नारी टेलिभिजनको कार्यक्रम प्रस्तोता छिन् ।