बाढीपहिरोमा परी छ जनाको मृत्यु, ७ सम्पर्कविहिन

बाढीपहिरोमा परी छ जनाको मृत्यु, ७ सम्पर्कविहिन

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितको बैठक


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी ७ जना घाइते र ७ जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।

बाढीपहिरोमा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितको बैठक

गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएका छन् ।

केन्द्रिय सुरक्षा समितको बैठक आज बिहान १०: ३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बस्दै छ ।

साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।