आज कुन-कुन जिल्लामा हुंदैछ भारी वर्षा ?

आज कुन-कुन जिल्लामा हुंदैछ भारी वर्षा ?


ग्लोब नेपाल
108
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायु र न्यूनचापीय प्रणालीका कारण वर्षा हुने जनाएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने। विभागले जनाएको छ ।

कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शुक्रबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ ।

पूर्वी नेपालका पहाडी र तराई क्षेत्रमा बिहानैदेखि मध्यमदेखि भारी वर्षा भइरहेको छ । मध्य क्षेत्रका केही भागमा पनि दिउँसोसम्म ठूलो वर्षा हुने अनुमान गरिएको छ । काठमाण्डु उपत्यका र आसपासका क्षेत्रहरूमा आंशिकदेखि हल्का वर्षात भइरहेको छ । विभागका अनुसार साँझसम्म देशका पहाडी भेगका विभिन्न ठाउँहरूमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

विशेषगरी, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनकुटा, ताप्लेजुङ, सिन्धुपाल्चोक लगायत जिल्लामा भारी वर्षातको सम्भावना रहेको छ । महाशाखाले विशेषगरी बाढी, पहिरो, र सडक यातायातमा अवरोधका घटनाहरू हुनसक्ने भएकाले सावधानी अपनाउन नागरिकहरुलाई सुझाव दिएको छ । पछिल्लो २४ घन्टामा मकवानपुरको हात्तीसुँढेमा सर्वाधिक ७० मिलिमिटर वर्षा भएको छ ।

यस्तै इलामको टी इस्टेटमा ६५.८, मकवानपुरको गढीमा ६१.२, कास्कीको लुम्लेमा ५३.६ विराटनरमा ४९.६, नवलपरासीको दुम्कौलीमा ४७.६, सुनसरीको तरहरामा ४४.२ र भोजपुरमा ४२.४ मिलिमिटर पानी परेको छ ।