पाँच वर्षपछि काठमाडौं–रुम्जाटार हवाइ सेवा सुरु

पाँच वर्षपछि काठमाडौं–रुम्जाटार हवाइ सेवा सुरु


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । झन्डै पाँच वर्षपछि काठमाडौं–रुम्जाटार हवाई सेवा पुनः सुरु भएको छ । आज आइतबार समिट एयरले रुम्जाटारकाे उडान भरेको हो । बाढीपहिरोले सडक यातायात अवरुद्ध भएको बेला ओखलढुंगाबाट निर्वाचित सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको पहलमा हवाई सेवा पुन: सुरु भएको हो । २०७६ देखि ओखलढुंगाको रुम्जाटार विमानस्थल सञ्चालनमा थिएन ।

यात्रामा सहभगी नेपाल टेलिभिजनका सञ्चारकर्मी बद्रीकाजी गुरुङका अनुसार काठमाडौंबाट रुम्जाटार पुग्न ३० मिनेट र रुम्जाटारबाट काठमाडौं आइपुग्न २५ मिनेट लाग्छ । सातामा दुई दिन उडान हुने काठमाडौं–रुम्जाटारकाे भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय कायम गरिएको छ ।

रुम्जाटारका लागि नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरणले समिट एयर र नेपाल एयरलाइन्सलाई अनुमति दिएको हो । दुवै एयरलाइन्सका १९ सिट भएका विमानले रुम्जाटार विमानस्थलमा उडान भर्ने भएका हुन् । यो विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्ने तयारी स्वरुप उडान पुनः सञ्चालन गरिएको बताइएको छ ।

सातामा दुई उडान हुने सांसद खतिवडाले जानकारी दिए । सांसद खतिवडाका अनुसार प्रत्येक आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले रुम्जाटार उडान भर्नेछ । उनले भने, ‘२०७६ सालमा रुम्जाटार विमानस्थलमा उडान स्थगित भएको थियो । यहाँका मान्छे बिरामी हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्थ्यो । २ लाख ८० हजार कम्तीमा भाडा तिर्नुपर्थ्यो । आज आइतबारको उडानमा ८ जना बिरामी काठमाडौंबाट ओखलढुंगा आउनुभएको छ । ओखलढुंगाबाट रिफर गरिएका ७ जना बिरामी विमान चढेर काठमाडौं जानुभएको छ ।’