जापानमा सन् २०५० सम्म आफन्त नभएका वृद्धवृद्धाको संख्या ४४ लाख पुग्ने

जापानमा सन् २०५० सम्म आफन्त नभएका वृद्धवृद्धाको संख्या ४४ लाख पुग्ने



काठमाडौं । जापानमा अबको केही वर्षमा वृद्ध जनसंख्या १० प्रतिशतले बढ्ने पूर्वानुमान सार्वजनिक भएको छ । पछिल्लो समय भएको एक सर्वेक्षणले जापानमा ६५ वर्ष वा बढी उमेरका मानिसहरूको संख्या डेढ गुणा बढ्ने र सन् २०५० मा कुल जनसङ्ख्याको १० प्रतिशतभन्दा धेरै वृद्ध जनसंख्या नै हुने देखाएको छ ।

जापान अनुसन्धान संस्थानले गरेको सर्वेक्षणमा अबको २५ वर्षपछि जापानामा तेस्रो पुस्तासम्मका नातेदार अर्थात् छोराछोरी, भतिजा, नाति र पनाति पुस्ता नै नभएको जनसङ्ख्या ४४ लाख ५० हजार जना पुग्ने उल्लेख छ । यसले जापानको विकास निर्माणलगायत समग्र राज्य सञ्चालनमा नै असर पुग्ने देखिएको छ ।

जापानको क्योदो समाचारका अनुसार अहिले जापानमा विवाह गर्ने र सन्तान जन्माउनेहरू निकै कम रहेकाले एकल वृद्धवृद्धाको संख्या बढिरहेको छ । उनीहरूको हेरचाहमा निकै अफ्ठ्यारो पर्ने खबरमा उल्लेख छ ।

तीन पुस्तासम्मका आफन्त नै नभएपछि अस्पताल र हेरचाह गृहहरूमा कसले उनीहरूको जिम्मा लिने र मृत शरीरको दाबी गर्ने विषयमा समस्या हुने देखिएको छ । जापानको नागरिक संहिताले वृद्ध परिवारका सदस्यहरूलाई सहयोग गर्ने जिम्मेवारी तेस्रो पुस्ताभित्रका आफन्तहरूलाई दिएको छ ।