काठमाडाैं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाई वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको बताएका छन् ।
मंगलवार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने योजनामा रहेको बताए । उनले औद्योगिक क्षेत्रमा वैदेशिक र निजी लगानी वृद्धि भएमा स्वदेशमा नै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गरे ।
यसैगरि उनले असल औद्योगिक वातावरण तयार गर्न ट्रेड युनियन कर्मीको भूमिका महत्वपूर्ण रहेको बताउँदै वर्तमान सरकार श्रमिक र उद्यमी व्यवसायीहरुबीच सुमधुर सम्बन्ध कायम गर्दै व्यवस्थापनमा श्रमिकको सहभागितालाई प्रोसाहन गर्ने नीति लिएको बताए ।
उनले श्रम सम्बन्ध सुधारका लागि श्रमसम्बन्ध समितिको व्यवस्था गरी औद्योगिक वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरे । नेपालको सन्दर्भमा श्रमिकलाई सबैभन्दा बढी आवश्यकता, प्रभावकारी सामाजिक सुरक्षाको व्यवस्था रहेको बताए ।
प्रतिक्रिया