धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन

धार्मिक पर्यटकका लागि तीन करोडको लगातमा आश्रम भवन



पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तीन करोड २० लाख रुपियाँ लागतमा भवन निर्माण गरिएको हो ।

विसं २०७८ भदौदेखि निर्माण सुरु भएको भवन हालै सम्पन्न भएको हो । तीन तला भएको पक्की भवनमा १७ वटा कोठा रहेका छन् । जसमा तालिम, गोष्ठि तथा सेमिनारका लागि हल, योग तथा साधना गर्नेका लागि समेत कोठा निर्माण गरिएको जनाइएको छ ।

महाशिलाको दर्शन तथा अध्ययन, अवलोकनका लागि स्वदेश तथा विदेशबाट आउने पर्यटकको सुविधाका लागि भवन निर्माण गरिएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो । आश्रम भवनको सबैजसो काम सकिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमै भवनबाट सेवा सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट बिनियोजन भइसकेको जनाइएको छ । भवनमा एकपटक ५० जनाभन्दा व्यक्ति बस्न सक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । आश्रम आउने पर्यटकलाई निःशुल्क बस्ने र खाने सुविधा उपलब्ध गराइनेछ ।

लुुंखुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायतका स्थानबाट पछिल्लो समय पर्यटक आउने क्रम बढेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला हिँडेर एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने उनले बताए ।

यहाँ एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायतका अवसरमा मेला लाग्ने गर्दछ । महाशिला गाउँपालिकाको नामाकरण पनि यही शिलाको नामबाट नामाकरण गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै दश रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयले निःशुल्क जग्गा समेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोड रुपियाँको गुरुयोजना समेत बनाएको छ । गुरुयोजना अनुसार कामहरु अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।