इन्स्पेक्टर बिनु फरार, एसपी कमल थापामाथि छानबिन सुरु

इन्स्पेक्टर बिनु फरार, एसपी कमल थापामाथि छानबिन सुरु


ग्लोब नेपाल
756
Shares

काठमाडौं । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको घटनामा अख्तियारमा कार्यरत एक जना प्रहरी उपरीक्षक (एसपी) माथि पनि छानबिन सुरु भएको छ ।

प्रहरी उपरीक्षक कमल थापालाई हेडक्वाटरमा तानेर छानबिन सुरु गरेको प्रहरी प्रधान कार्यालय उच्च श्रोतले जानकारी दिएको छ । थापालाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।

ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा बोलाएर घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी अहिले फरार छिन् । एसपी थापाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जिसी महिला बालबालिका सेवा निर्देशनालयमा कार्यरत रहेका छन् ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । सो उजुरीको आधारमा इन्स्पेक्टर शाहीले ललितपुरको लुभु बस्ने घरजग्गा व्यवसायीलाई बोलाएर छलफल गराएकी हुन् ।

ती व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दारसहित ४ जना थुनामा छन् । थुनामा हुनेमा सुस्मा विक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवल्दार महेन्द्र हमाल हुन् । सहायक हवल्दार इन्स्पेक्टर शाहीको सवारी चालक हुन् ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ । ललितपुरको साना गाउँमा घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।