बेइजिङ+ समीक्षा र कार्ययोजना महिला सशक्तिकरणको लागि दूरदर्शी एजेन्डा

बेइजिङ+ समीक्षा र कार्ययोजना महिला सशक्तिकरणको लागि दूरदर्शी एजेन्डा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुढीले सन् २०२५ को मार्चमा अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजना हुने बेइजिङ+३० समीक्षामा नेपालका लागि नेशनल नेटवर्क फर बेइजिङ प्लस रिभ्यू नेपालले नागरिक समाजहरुको तर्फबाट उठान गरेको विषय फलदायी हुने विश्वास गरेका छन् ।

शुक्रबार मन्त्री सुढीले बेइजिङ+३० का बारेमा नागरिक समाजबाट तयार पारिएको राष्ट्रिय समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै भने, ‘बेइजिङ+ समीक्षा र कार्ययोजना महिला सशक्तिकरणको लागि दूरदर्शी एजेन्डा हो । यसले निजी र सार्वजनिक सबै क्षेत्रहरूमा महिला सशक्तिकरणको लागि सरोकारका क्षेत्रहरु पहिचान गरेको छ । यस समीक्षाले महिला र बालिकाहरूको सशक्तिकरणलाई समर्थन गर्ने कुरा पनि सुनिश्चित गर्दै, भविष्यका महत्वपूर्ण नीतिगत निर्णयहरूमा योगदान पुर्याउनेछ ।’

नागरिक समाजद्वारा तयार पारिएको बेइजिङ प्लस ३० का बारेमा शुक्रबार राष्ट्रिय समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुँडी । तस्बिरः गोपाल दाहाल

महिला सशक्तिकरण र लैङ्गिक समानताको विकासका लागि संकल्प गर्दै आगामी दिनहरुमा पनि हातेमालो गर्दै आगाडी बढ्ने नै प्रतिवद्धताका मन्त्री सुढीले गरेका छन् ।

महिला अधिकारका विषय सुधार भइरहेको महिला आयोगकी अध्यक्ष कमला पराजुलीले व्यक्त गरिन् । समीक्षा गोष्ठीमा १२ वटा बकेटमा तयार पारेको एजेन्डाले अब नपुग्ने भन्दै उनले अगाडि बढ्दै जाँदा समस्या थपिँदै गएको उनको भनाइ थियो । पछिल्लो समयमा जेष्ठ महिला नागरिक र यौनकर्मीका विषय बेइजिङ+३० समीक्षामा थप्नुपर्ने उनको सुझाव थियो ।

सन् १९९५ मा बेइजिङमा आयोजना भएको चौथो विश्व सम्मेलनमा सहभागी भएको स्मरण गर्दै अध्यक्ष पराजुलीले त्यसयता महिला सशक्तिकरणमा धेरै सुधार भएको उनले सुनाइन् ।

संयुक्त राष्ट्र संघको महिला प्रतिनिधि प्याट्रिया फर्नाडेजले नेपालमा महिला अधिकारको आन्दोलनमा धेरै प्रगति भएको बताइन् । उनले यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ र आफूहरुको सहयोग निरन्तर रहने उनको भनाइ थियो ।

कार्यक्रममा बेइजिङ कार्ययोजनाले निर्धारण गरेको १२ वटा सरोकारका क्षेत्रबारे महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) का कार्यकारी निर्देशक सविन श्रेष्ठले स्पष्ट पारेका थिए । महिला र शिक्षा, महिला र अर्थतन्त्र, महिलाको मानवअधिकार, महिला र गरिबी, महिला र स्वास्थ्य, शक्ति संरचना निर्णय प्रक्रियामा महिला, महिला र सञ्चार, महिला र वातावरण, महिलाको उन्नतिको लागि संस्थागत संरचना, महिला र सशस्त्र द्वन्द्व तथा महिलाविरुद्धको हिंसा निर्धारण गरिएको सरोकारका क्षेत्र थिए । श्रब्यदृश्यसहितको उनको प्रस्तुतिबाट बेइजिङ कार्ययोजनाबारे बुझ्नलाई सजिलो भएको थियो ।

कार्यक्रममा महिला सशक्तिकरणको क्षेत्रमा लामो समय योगदान दिने लक्ष्मीकेशरी मानन्धर, इन्दिरा श्रेष्ठ र तुलसालता अमात्यलाई सम्मान गरिएको थियो । मन्त्री सुढीले उनीहरुलाई सम्मान गरेका हुन् । यस वर्षदेखि युवालाई प्रोत्साहनसमेत गरिएको छ । यस वर्ष एसेस प्लानेटकी लक्ष्मी नेपाललाई सम्मान गरिएको छ । यसैगरी कार्यक्रममा आयोजक नेशनल नेटवर्क फर बेइजिङ+ समीक्षा नेपाल र एफडब्लुएलडीले तयार पारेको क्यालेन्डर सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा उद्घाटनसत्र सम्पन्न भएपछि बेइजिङ कार्ययोजनाले निर्धारित गरेको १२ वटा सरोकारका क्षेत्रहरुका विषयमा सामूहिक छलफल चलाइएको थियो । १२ वटा विषयलाई तीन तीनवटा समूह बनाएर छलफल गरिएको थियो ।