अमेरिकामा पहिलो आपराधिक प्रतिवादी राष्ट्रपति

अमेरिकामा पहिलो आपराधिक प्रतिवादी राष्ट्रपति


ग्लोब नेपाल
594
Shares

न्यूयोर्क । ४७ औं राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पहिलो आपराधिक प्रतिवादी राष्ट्रपति हुन् । एउटा मुद्दामा दोषी ठहर भएको र सजाय तोक्न बाँकी रहेको तथा फौजदारी र देवानी ३४ मुद्दा अदालतमा हुँदाहुँदै ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएका हुनाले उनलाई आपराधिक प्रतिवादी राष्ट्रपति भनिएको हो । अमेरिकी इतिहासमा राष्ट्रपतिलाई यस्तो दाग लागेको पहिलो घटना हो ।

अमेरिकी जनताले ह्वाइट हाउसमा एक दोषीलाई पुनः निर्वाचित गरेका छन् । जसलाई दोषी भनिएको छ, उसले न्यूयोर्कमा ‘हश मनी’ मुद्दामा सजाय पर्खिरहेका छन् । यो मुद्दाको फैसला यही महिनामा हुँदै थियो । ट्रम्पले अन्य केही राज्य र संघीय मामिलाहरूमा अभियोजनलाई रोक्न काम गरेका छन् ।

ट्रम्पले २०१६ मा राज्य सम्पत्तिको दुरुपयोग गर्दै अमेरिकी एडल्ट फिल्म स्टार स्टोर्मी ड्यानिएल्ससँगको यौन सम्बन्ध लुकाउन उनलाई पैसा दिएको भन्दै ड्यानिएल्सले मुद्दा दायर गरेकी थिइन् । यो मुद्दालाई हश मनी मुद्दा भनेर चिनिएको छ । उक्त मुद्दामा ट्रम्प दोषी ठहर भइसकेका छन् । यद्यपि यसको सजाय भने अदालतले तोक्ने मात्रै बाँकी छ ।

विगतमा भूतपूर्व राष्ट्रपतिलाई कहिल्यै आपराधिक आरोप लगाइएको थिएन, अमेरिकी जनताले राष्ट्रको सर्वोच्च पदमा आपराधिक प्रतिवादीलाई पहिले कहिल्यै चुनेका थिएनन् ।

नवनिर्वाचित ट्रम्पले विशेष सल्लाहकार ज्याक स्मिथलाई बर्खास्त गरेको, २०२० को राष्ट्रपतिको चुनावलाई उल्टाउने प्रयास गरेको, गोप्य कागजातहरू गलत प्रयोग गरेको र उनीविरुद्धका मुद्दाहरू समाप्त गर्ने योजना बनाएको आरोप लागेका मुद्दाहरु संघीय अदालतमा छन् ।

यही महिना अर्थात डेसेम्बर अन्त्यसम्म ट्रम्पलाई सजाय दिने तयारी गरिएको थियो । तर न्युयोर्कका एक न्यायाधीशले राष्ट्रपतिको दौडको नतिजालाई असर गर्ने कुनै पनि गतिविधिमा रोक लगाएका थिए । अब निर्वाचित राष्ट्रपति भएकाले अब सजाय स्थगित गर्न न्यायाधीशले सोच्नुपर्ने भएको ट्रम्पका वकिलहरूले अपेक्षा गरेका छन् ।

ट्रम्पले सबै आरोपमा आफू दोषी नभएको जिकिर गरेका छन् । उनीविरुद्ध ४ फौजदार मुद्दा छन् । लोयोला कानून स्कूलका संवैधानिक कानून प्राध्यापक जेसिका लेभिन्सनले भनिन्, ‘यी मुद्दाहरूलाई सकेसम्म लामो समयसम्म ढिलाइ गर्ने प्रयास अब हुनेछ ।’