भैंसेपाटीको हनिट्रयाप घटना अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

भैंसेपाटीको हनिट्रयाप घटना अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई


ग्लोब नेपाल
81
Shares

काठमाडौं । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको अनुसन्धान गर्ने जिम्मा अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको छ ।

ललितपुर प्रहरीको प्रस्तावमा सीआईबीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन । यसअघि सो घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सुरु गरेको थियो ।

ललितपुर प्रहरीले पक्राउ परेका ४ जना आरोपीसहित अनुसन्धान फाइल सीआईबीलाई हस्तान्तरण गरेको छ । सो प्रकरणमा पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएकी भिमादेवी थापा, ताज मुल इस्लाम, धनकुटा घर भएर इटहरी बस्ने सुस्मा बिक र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल छन् ।

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध संगठित अपराध र आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । आरोपीहरुले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर रकम असुलेको आरोप छ ।

आरोपीहरुसँग मिलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर विनु शाहीलाई निलम्बन गरिएको छ । उनीविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेका थिए । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।