सातबुँदे सहमतिअनुसार नै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह

सातबुँदे सहमतिअनुसार नै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह



विराटनगर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसार नै संविधान संशोधन र सरकार सञ्चालन हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘सातबुँदे सहमतिअनुसार यो सरकार बनेको हो, आवश्यक विषयहरूमा छलफल गर्न दुईदलीय संयन्त्र बनाइएको हो । केही विषयमा समझदारी गर्नु परेमा संयन्त्रले काम गर्छ ।’ संयन्त्रले सरकारलाई सफल बनाउन र प्रभावकारी बनाउन सहयोग गर्ने पनि उनले बताए ।

संविधान संशोधनका विषय पनि सातबुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबिच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहको भनाइ थियो । उनले कांग्रेस एमाले गठबन्धनको सरकार बनेपछि टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारवाही अघि बढेको बताए ।