सेयर बजारमा सीमित व्यक्तिले फाइदा लिए : प्रकाशशरण महत

सेयर बजारमा सीमित व्यक्तिले फाइदा लिए : प्रकाशशरण महत



काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले फाइदा लिइरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा उनले सेयर बजारमा चलखेल गर्नेलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

उनले साधारण लगानीकर्तालाई संरक्षण गर्न अर्थमन्त्रीले नियामकलाई निर्देशन दिनुपर्ने बताए ।

“इनसाइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “बजारको सिस्टम बुझेकाले फाइदा लिने अहिलेको परिपाटीलाई अन्त्य गर्नुपर्छ ।”

त्यसैगरी सांसद महतले लगानीको वातावरणका लागि कानुनले बाधा सिर्जना गरेको बताए । ‘त्यसकारण लगानी आउन सकेको छैन । यस्ता कानुन सरकारले संशोधन गरिनुपर्छ,’ सांसद महतले भने- ‘अन्तर्राष्ट्रिय लगानीको प्रतिस्पर्धा ठुलो छ । सबै नेपालमै लगानी गर्न आउँछन् भन्ने छैन त्यसैले सहज वातावरण बनाउनुपर्छ ।’

कन्ट्रिरेटिङको प्रावधानले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गरिदिएको उनको भनाइ छ । यसैगरी गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्दा राजस्व सङ्कलनमा सुधार हुनकासाथै देशमा रोजगारी सिर्जना हुने बताए ।

‘गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्ने कुरा अहिलेसम्म अड्किएको छ । हाम्रो देशमा सहज उत्पादन गर्न सकिने अवस्था छ तर कानुनी प्रावधान हटाएर छिटोभन्दा छिटो सहज बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि कानुनी रूप चाँडै दिन जरुरी छ ।’