पत्रकार महासंघको अमेरिका शाखा गठन, संयोजकमा शेर्पा

पत्रकार महासंघको अमेरिका शाखा गठन, संयोजकमा शेर्पा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले अमेरिकामा आफ्नो शाखा गठन गरेको छ। महासंघको विधान अनुसार देश बाहिर पनि शाखा विस्तार गर्दै जाने क्रममा अमेरिकामा शाखा गठन गरिएको महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले जानकारी दिनु भएको छ। अधिकारीका अनुसार, शाखाको तदर्थ समितिको संयोजकमा हाल अमेरिकामै रहेका महासंघका पूर्व केन्द्रीय सदस्य आङछिरिङ शेर्पालाई चयन गरिएको छ।

शेर्पालाई संयोजकको रुपमा तीन महिनाभित्र महासंघको सदस्यता वितरण गरेर अधिवेशन गर्न जिम्मेवारी तोकिएको छ। ‘तीन महिनाभित्र सदस्यता विस्तार गरेर अधिवेशन गराउने गरी तपाईंलाई महासंघ अमेरिका शाखा तदर्थ समितिको संयोजक तोकिएको छ’ कार्यवाहक अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको मंसीर २० गते प्रेषित पत्रमा उल्लेख छ।

यसैबीच संयोजक शेर्पाले पनि महासंघले आफुलाई अमेरिकाको संयोजक चयन गरी जिम्मेवारी दिएकोमा महासंघको नेतृत्वप्रति आभार व्यक्त गरेका छन्। ‘मलाई विश्वास गरेर महासंघको शाखा विस्तार गर्न जुन जिम्मेवारी दिइएको छ, म त्यसलाई अमेरिकामा रहेका सबै नेपाली मूलका पत्रकार साथीहरु र महासंघका पूर्व नेतृत्वतहमा रहेका साथीहरुसंग सल्लाह गरेर पुरा गर्ने प्रयास गर्नेछु ‘ शेर्पाले भने।

शेर्पा करीब दुई दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन्। नेपालमा रहँदा कान्तिपुर दैनिकमा आवद्ध रहेका उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने दक्षिण एशियाकै पहिलो पत्रकार पनि हुन्। करीब अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शेर्पा नेपाल अमेरिका पत्रकार संघ-नेजाका पूर्व अध्यक्ष समेत हुन्। उनकै पहल र कार्यकालमा नेजा र महासंघबीच सहकार्यको सम्झौता भएको थियो। हाल उनी एभरेष्ट टाइम्सको प्रधान सम्पादक छन्।