काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टिम

काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । जनकपुरले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध पाँच रनको जित निकालेसँगै प्रतियोगिताको प्लेअफमा स्थान सुनिश्चित गरेको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०२ रनको लक्ष्य जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतियोगितामा छैटौँ खेल खेलेको जनकपुरको यो पाँचौँ जित हो । जनकपुरले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध आठ विकेटको, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार बेहोरेको थियो ।

काठमाडौंको भने आजको खेलमा पराजित भएसँगै प्लेअफ सम्भावना कठिन भएको छ । काठमाडौंले पाँच खेलमा तीन खेलमा हार ब्यहोरिसकेको छ । अब उसलाई प्लेअफमा पुग्नका लागि बाँकी दुवै खेल जित्नु पर्ने अवस्था छ ।

बिहीबारकाे खेलमा जनकपुरका लागि हर्ष थाकरले नटआउट २५ रन र मोहमद मोहसिनले नटआउट १३ रन जोडे ।

जनकपुरका ओपनिङ ब्याटरहरु आसिफ शेख २ र लाहिरू मिलन्थाले १६ रन मात्र बनाए भने कप्तान अनिलकुमार साह ११ रनमै आउट भए । शुभ कंसाकार ५ रनमा आउट हुँदा जिमी निशमले २७ रन जोडे ।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए ।

आजकाे दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं तीन बल खेल्न बाँकी छदा १०१ अलआउट भएको थियो ।

काठमाडौंका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।

बलिङमा जनकपुरका ललितले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन् । यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे । किशोर महतोले १ विकेट लिए । उनले पनि जारी प्रतियोगिता आफ्नो विकेट संख्या १० पुर्‍याइसकेका छन् ।