काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध २१ को जित निकाल्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उनले ३४ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५३ रन बनाए । एनपीएलमा उनको यो तेस्रो अर्धशतक हो । कप्तान कुशल मल्लले २१ रन बनाए ।
जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए ।
त्यसअघि जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।
चाडविक वाल्टनले अविजित ४६ रन जोडे । २३ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । जिसन मक्सुदले १४ रन योगदान गरे ।ओपनर रित गौतम र गुल्सन झाले खाता खोल्न सकेनन् । बलिङमा चितवनका सोहेल तनविरले २ तथा रवि बोपारा र कप्तान कुशल मल्लले समान एक विकेट लिए ।
प्रतिक्रिया