काठमाडौं । कुनै तिलस्मी घटना भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २४ गतेबाट ४ दिने भारत भ्रमण गदैछन् । प्रधानमन्त्री ओलीको भ्रमण कन्फर्म गर्न र समय तालिका मिलाउन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा युरोपबाट सिधैं दिल्ली पुगेकी छन् भने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव केही दिनदेखि दिल्लीमै छन् ।
पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न औपचारिक रुपमा मन्त्री राणा भारत पुगेकी हुन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा चलिरहेकै बेला परराष्ट्रमन्त्री डा. राणा दिल्ली पुग्नु, नेपालका लागि भारतीय राजदूत श्रीवास्तव केही दिनबाट दिल्लीमै हुनुले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल हुनसक्ने परराष्ट्रश्रोतले ग्लोब नेपाललाई बतायो ।
प्रधानमन्त्री ओलीलाई भारतबाट निम्तो आएको छैन, चीनले पनि औपचारिक निम्ता अन्तिम समयमा पठाएको थियो । यही पेरिफेरिमा कार्यक्रममा सहभागी हुन डा. राणालाई भारतीय समकक्षी एस जयशंकरले औपचारिक निम्तो नै पठाएका थिए । मन्त्री राणा र समकक्षी जयशंकरबीचको भेटपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणको समय तालिका सार्वजनिक हुने अनुमान गरिएको छ । मन्त्री राणा पुस ६ गते शनिबार फर्किदै छिन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको ग्रिन सिग्नल पाएकाले नै परराष्ट्रमन्त्री यूरोपबाट दिल्ली पुगेको कूटनीतिक क्षेत्रमा चर्चा छ । परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलाई लिएर भारतीय दूतावासका कार्यवाहक राजदूत प्रशसन्न श्रीवास्तव र परराष्ट्र सचिव अमृतबहादुर राईले भेट गरेका छन् । भारतका लागि नेपाली राजदूत शंकर शर्माको एग्रिमो स्वीकृतलाई पनि सकरात्मक संकेतका रुपमा हेरिएको छ ।
प्रतिक्रिया