एनपिएल विजेता जनकपुरलाई प्रधानमन्त्रीकाे बधाईसहित सम्मान

एनपिएल विजेता जनकपुरलाई प्रधानमन्त्रीकाे बधाईसहित सम्मान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाइ दिएका हुन् ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

“यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपिएलको जित हो । यस खेलमा तपाईहरुको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्र्सका खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु हिरो हो । नायक र महानायक हो । म तपाईहरुको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठुला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

आफूले प्रधानमन्त्री बहालीपछि हुँदा कीर्तिपुर क्रिकेट मैदानको स्तरतोन्नतिको पहिलो निर्णयमा गरिएको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको सुनाउँदै उनले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराए ।