तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै



तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा बनेको चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।

प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढुङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ ।

गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा (पैँयूँ), सिङ्चाङ्गो याम्चाङ्गो (धसिङ्गरे), ते लासे (केरा), लि सिङ्फा (मलिबाँस) जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ ।

पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्न आउनुभएका इलामका पर्यटक चञ्चल लिम्बूले बताए ।

चोत्लुङ पार्कभित्र युमा सङ्ग्रहालय छ । सङ्ग्रहालय गोरखाका राजा पृथ्वीनारायण शाह र लिम्बूवानबीच विभिन्न समयमा भएका सन्धि, सम्झौता, रुक्कालगायत ऐतिहासिक कागजात र दस्तावेज सङ्ग्रहित छन् ।

लिम्बूहरूसँग सम्बन्धित पुराना गरगहना, वेषभूषा, हातहतियार, परम्परागत घरेलु उपकरण, वास्तुकला, सिक्कालगायत महत्त्वपूर्ण सामग्री पनि सङ्ग्रहालयमा सुरक्षित छन् ।

सङ्ग्रहित वस्तु लिम्बूको इतिहास र संस्कृतिसम्बन्धी खोज, अनुसन्धाताका लागि उपयोगी हुने किरात याक्थुङ चुम्लुङका सचिव राजकुमार तेयुङले बताए ।