काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेश पहिलो पारीमा १ सय २९ रनमा अलआउट भएको छ । वीरगञ्जमा नेपाल पुलिस क्लबसँगको तेस्रो खेलमा मधेश पहिलो दिनको खाना समयपछि १ सय २९ रनमा समेटिएको हो ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मधेशका लागि मयन यादवले सबैभन्दा धेरै ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए । अहिले पुलिसले पहिलो पारीको ब्याटिङ शुरू गरेकाे छ ।
यस्तै जय ट्रफी एलिट कप क्रिकेटकाे चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश खेलिरहेका छन् । जनकपुरमा पहिलो पारीको ब्याटिङ गरिरहेको आर्मीले याे समाचार तयार पार्दासम्म ५०.३ ओभरमा ५ विकेट गुमाएर २ सय १६ रन बनाएकाे छ ।
प्रतियोगितामा चार वटा टोली छन् । यसअघि भएका दुवै खेल बराबरीमा सकिएको थियो । यसअघि आर्मी र पुलिस तथा मधेश र बाग्मतीबीच खेल भएको थियो । बराबरीसँगै बाग्मती १५ अंकसहित तालिकाको शीर्ष, मधेश १५ अंकसहित दोस्रो, पुलिस १५ अंकसहित तालिकाको तेस्रो र आर्मी १४ अंकसहित पुछारमा छ ।
प्रतियोगितामा प्रारम्भिक चरणका खेल दुई दिवसीय फर्म्याटमा गरिएको छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
प्रतिक्रिया