ओली सरकारले मुलुकमा सुशासन दिन सकेन : शशांक कोइराला

ओली सरकारले मुलुकमा सुशासन दिन सकेन : शशांक कोइराला

कोइराला परिवार एक ठाउँमा आउनु र नआउनुले ठूलो अर्थ राख्दैन



घोराही । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको बताएका छन् ।

दाङको घोराहीमा आज आयोजित पार्टीका जिल्ला, क्षेत्र, नगर, पालिका, वडाका अगुवा कार्यकर्ताहरूसँगको भेटमा उनले काँग्रेस सरकारमा सामेल भए पनि सरकारको नेतृत्वकर्ता ओलीले मुलुकमा सुशासन पनि दिन नसकेको आरोप लगाए ।

शंशाकले काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनतामा उत्साह भए पनि ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको बताए ।

अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्वनापूर्ण वातावरण भएको भन्दै उनले काँग्रेसका जिम्मेवार पदाधिकारीले अहिले संसद्लाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बस्दै हिँडेको आरोप लगाए ।

काँग्रेस नेता, कार्यकर्ताहरूले विवेक पुर्‍याउनुपर्ने समय आउन लागेको भन्दै अब आउने महाधिवेशनमा आफू सभापति लड्ने पनि उनले जनाए । सभापति लड्ने सोच बनाइरहँदा देशभर काँग्रेस नेता, कार्यकर्ताहरूलाई भेट्नेक्रममा दाङ आइपुगेको चर्चा गर्दै नेता कोइरालाले आउने सभापतिमा शेखर कोइरालालाई छाड्न नसक्ने संकेत गरे ।

कोइराला परिवार एक ठाउँमा आउनु र नआउनु ठूलो अर्थ नराख्ने चर्चा गर्दै उनले रगतको नाताले मात्रै नहुने भएकाले विचारको एकता नहुँदासम्म कोइराला परिवार एक हुनुको अर्थ नरहेको टिप्पणी गरे ।