काठमाडौं । आफ्नै नागरिकलाई १० वर्षे आवासीय भिषा निःशुल्क दिने कानुन नेपाल सरकारले ल्याएको छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्ला, तर केपी शर्मा ओली नेतृत्वको सरकारले नागरिकता प्राप्त गैरआवासीय नेपालीलाई १० वर्षे आवासीय भिषा निःशुल्क दिने कानुन हिजो बिहीबारबाट अध्यायदेशमार्फत् लागू गरेको छ ।
सरोकारवालासँग परामर्श नगरी यो अध्यायदेश ल्याइएको गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले बताए । ‘मस्यौदा गरिएको गैरआवासीय नेपाली नागरिक ऐनसँग बाँझिने, संविधान र ऐनसँग मेल नखाने अध्यायदेश कसरी जारी भयो यसबारे हामी जानकार छैनौं’ उपाध्यक्ष डा. शर्माले भने, ‘लगानी भित्र्याउनका लागि सरकारले हतारमा अध्यायदेश जारी गरेको हुनसक्छ, यो सच्चिन्छ भन्ने मलाई विश्वास छ ।’
जारी अध्यायदेशमा गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ को दफा २ को (क) मा गैरआवासीय नेपाली भन्नाले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति, नेपाली मूलको विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक उल्लेख छ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति भन्नाले कानुन बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्राप्त भन्ने उल्लेख छ ।
दफा ११ को उपदफा (१) को सट्टामा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासीय भिषा निःशुल्क उपलब्ध गराइने उल्लेख छ ।
यस्तै (१क) मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधासहितको आवासीय भिसा निःशुल्क उपलब्ध गराइने छ ।’
प्रतिक्रिया