काठमाडौं । एक सातासम्म गुपचुप राखिएको ऊर्जा मन्त्री दिपक खड्कामाथि मुक्का प्रहार काण्ड पदाधिकारी र कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीबीचको अन्तरक्रियामा छताछुल्ल भयो । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसबाट सहभागी मन्त्रीहरुलाई हिजो बिहीबार छलफलका लागि बुढानीलकण्ठ बोलाएका थिए ।
अन्तक्रियामा मन्त्रीहरुलाई आफ्नो भनाइ राख्न दिइएको थियो । त्यसपछि पार्टी पदाधिकारीहरुले प्रश्न गरेका थिए । कार्यसम्पादनमा सबैभन्दा कमजोर र विवादित ऊर्जामन्त्री खड्का देखिएका थिए । पार्टी पदाधिकारीको जवाफ दिन नसकेपछि उनले सिंहदरबारभित्रै मन्त्रीसमेत सुरक्षित नरहेको प्रसँग सुनाएका थिए ।
आफूमाथि मन्त्रालयमै हातपात भएको घटना मन्त्री खड्काले सुनाइसकेपछि त्यत्ति नै बेला घटनाबारे किन जानकारी नगराएको भनी गृहमन्त्री रमेश लेखकले प्रश्न गरेका थिए । गृहमन्त्री लेखकको प्रश्नको जवाफ मन्त्री खड्काले दिन चाहेनन् । हातपात गर्ने हरि पोखरेललाई कारबाही नगर्न प्रहरीलाई मन्त्री खड्काले अनुरोध गरेका थिए ।
भएको के रहेछ ?
प्रायः सिंहदरबारभित्र विशेष गरी मन्त्रालय छेउछाउ देखिरहने अनुहार हो हरि पोखरेल । विशेषतः टेलिभिजनलाई विज्ञापन खोज्दै मन्त्रालय छेउछाउमा पोखरेल देखिन्छन् । जुनसुकै पार्टीको मन्त्री भए पनि पोखरेल मन्त्रीको नजिक पुग्ने प्रयास गर्छन् ।
पोखरेलले मुक्का प्रहार गर्नुभन्दा अघि मन्त्री खड्कासँग भेट्ने प्रयास गरेका रहेछन् । भेट नपाएपछि ऊर्जा मन्त्रालयमा पोखरेल ओहोरदोहोर गरिरहेका थिए । उनले मन्त्री भेट्ने समय पाएनन् । मन्त्री बाहिर निस्केपछि पनि उनले मन्त्रीलाई केही भन्न खोज्दै थिए । त्यसबेला मन्त्रीको पिएसओले अगाडि पर्न दिएनन् । त्यसपछि अर्को भ-याङबाट हतार–हतार ओर्लेर तलको प्यासेजमा उभिए । त्यही प्यासेजमा मन्त्रीले आफ्नो कुरा सुन्न नखोजेपछि पोखरेलले फिल्मीशैलीमा आक्रमण गरेका हुन् ।
मुक्का हन्न मात्र भ्याएका पोखरेललाई तुरुन्तै मन्त्रीको पिएसओले पक्रेका थिए । केही क्षण तनावपूर्ण स्थिति सिर्जना भयो । पोखरेललाई प्रहरी बोलाएर जिम्मा लगाएपछि मन्त्री खड्काले सिंहदरबार छाडेका हुन् । साँझ मन्त्रीले सिंहदरबार प्रहरी वृत्तमा फोन गरेर पोखरेललाई छाड्न भनेका थिए ।
को हुन् हरि पोखरेल ?
पोखरेल पेशाले विज्ञापन व्यवसायी र टेलिभिजन कार्यक्रम निर्माता हुन् । उनले एडवल्ड मिडिया भन्ने विज्ञापन एजेन्सी सञ्चालन गरेका थिए । त्यसपछि पब्लिक स्पिकर र क्वीज मेनिया नामको दुईवटा टेलिभिजन कार्यक्रमको उनी उत्पादक र निर्देशक हुन् ।
पब्लिक स्पिकर कार्यक्रम दुई एपिसोड चल्यो । पछिल्लो एपिसोडमा रमेश प्रसाई च्याम्पियन बनेका थिए । सुगारिका केसीले सञ्चालन गर्ने यो कार्यक्रममा राजेश हमाल, सरु जोशी र डा. रोशन राठी निर्णायक मण्डलमा थिए । क्वीज मेनिया चाहिँ २३ एपिसोडसम्म चलेको थियो । स्कुलका विद्यार्थीबीच प्रतिस्पर्धा हुने हाजिर जवाफ कार्यक्रम राजेश हमालले सञ्चालन गरेका थिए ।
विज्ञापन बजारमा मन्दी सुरु भएपछि पोखरेलको टेलिभिजन कार्यक्रम समस्यामा परेको थियो । त्यसपछि उनी राजनीतिमा संलग्न हुन थाले । गोरखा क्षेत्र नं. २ को (ख) बाट उनी गत निर्वाचनमा प्रदेश सांसदको उम्मेदवार बनेका थिए । उनको चुनाव चिन्ह आँखी झ्याल थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निर्वाचित उक्त क्षेत्रमा पोखरेलले १ हजार ३ सय ६७ मत पाएका थिए ।
पुनः कार्यक्रम टेलिभिजन कार्यक्रम उत्पादन क्षेत्रमा फर्किने तयारी गरेका पोखरेल दुई चारवटा हाइड्रोमा विज्ञापन भनिदिन अनुरोध गर्न ऊर्जा मन्त्रीलाई भेट्न चाहन्थे । मन्त्री आफै हाइड्रो व्यवसायी हुन् । पोखरेलले ऊर्जा मन्त्रीबाट ठूलै सहयोगको अपेक्षा गरेका थिए । भेटेर आफ्ना कुरा राख्न नपाएपछि पोखरेलको कन्पारो तातेको हो ।
ज्ञानबद्र्धक र नेपाल र नेपालीको हितमा कार्यक्रम सञ्चालन हुने भएकाले राज्यले नै यस्ता कार्यक्रम प्रवद्र्धन गर्नुपर्छ भन्ने पोखरेलको भनाइ छ । तर, कतैबाट सहयोग नपाएको, आर्थिक अभावका कारण घर बिग्रेपछि उनी तनावमा थिए । जता पनि हन्डर र ठक्कर खानुपरेपछि जे पर्ला भनेर उनी मन्त्रीमाथि नै जाइलागेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
प्रतिक्रिया