रवि लामिछानेविरूद्ध चितवनमा अर्को सहकारी ठगी मुद्दाको तयारी

रवि लामिछानेविरूद्ध चितवनमा अर्को सहकारी ठगी मुद्दाको तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को सहकारी ठगी मुद्दाको तयारी गरिएको छ ।

चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन बुझाइएको थियो । अनुसन्धान प्रतिवेदन अनुसार सहकारीबाट विभिन्न कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ लगानी विस्तार गरेको पाइएको छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७ रुपैयाँ, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ, स्प्रिङ उड रियल स्टेटमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ लगानी भएको देखिएको छ ।

सहकारीका कुल ६,३३४ बचतकर्ताको जम्मा बचत रकम ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ रहेको छ भने सहकारीको कुल दायित्व पुँजी ६५ करोड १६ लाख ७१ हजार ७१२ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारीले कर्जा लगानी गरेकामा ५६ करोड २२ लाख ५० हजार ११५ रुपैयाँ फिर्ता लिन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए ।

लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको छ । कास्की र काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष छन् भन्ने नदेखिएकाले धरौटी मागेको थियो ।

कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई छ । 

यी सबै सहकारीका मुख्य सञ्चालक जिबी राई हुन् । उनी फरार छन् । उनका पार्टनर छविलाल जोशी, रवि, कुमार रम्तेललगायत हुन् । नेचर हर्ब्स जिबी र छविको संयुक्त लगानीको कम्पनी हो ।