काठमाडौं । आईसीसी यु-१९ महिला टी–२० विश्वकप क्रिकेट भोलिदेखि मलेसियामा शुरू हुँदैछ । उद्घाटन खेलमा भोलि बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्ड खेल्दैछन् ।
नेपालले भोलि दिउँसाे सवा १२ बजे बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । नेपालले समूह चरणको दोस्रो खेलमा आउँदो सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।
हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।
प्रतिक्रिया