वडापछि पालिका अधिवेशनमा कांग्रेस, नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा

वडापछि पालिका अधिवेशनमा कांग्रेस, नेतृत्वका लागि धमाधम उम्मेदवारी घोषणा



पोखरा।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सकिएपछि कास्कीमा पालिकास्तरीय अधिवेशनको चहलपहल सुरू भएको छ । कांग्रेसले आगामी २७ भदौमा पालिका अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ । पाँच स्थानीय तह रहेको कास्कीमा सबै तहका लागि उम्मेदवारले उम्मेद्वारी सार्वजनिक गर्न थालेका छन् ।

भूगोलका हिसावले देशकै ठूलो महानगर पोखराको नेतृतव गर्न हालसम्म पाँच जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । पत्रकारदेखि जनप्रतिनिधिसम्मले महानगर हाँक्न आकांक्षा देखाएका छन् । हालसम्म लामो समय पत्रकारिता गरेका पत्रकार गंगाधर पराजुलीले महानगर सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् ।

पोखरा महानगरको वडाअध्यक्षमा निर्वाचित वडाध्यक्षहरुले पनि आकांक्षा देखाएका छन् । वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछाने र ११ का अध्यक्ष मोहन बास्तोलाले दावेदारी प्रस्तुत गरे ।यस्तै, मिलनप्रसाद तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन् भने अर्की पत्रकार ज्योती हमाललेसमेत नेतृत्वमा दावी पेस गरिन् । पोखरा महानगरपालिकाका महासचिव तथा हाल कांग्रेस पोखराको उपसभापति सुरेन्द्र विजुक्छे पनि सभापतिको दौडमा छन् । सभापतिभन्दा तल्लो तहमा अहिलेसम्म कसैले घोषणा गरेका छैनन् ।

यस्तै, माछापुच्छ«ेमा तीनजना प्रवल दावेदार देखिएका छन् । वडा नम्बर १ का निर्वाचित वडाध्यक्ष वीरेन्द्र गुरुङ, हाल पालिका सभापति मदुसुदन अधिकारी र अर्का नेता रामबहादुर गुरुङ सभापतिमा प्रतिस्पर्धामा छन् । रुपा गाउँपालिकामा हाल उपाध्यक्ष उठेर पराजित भएकी गीमाया गुरुङले दावी गरेकी छिन् । अर्का नेता आनन्द सुवेदीको पनि चर्चा छ ।

मादीमा हालसम्म अर्जुन गुरुङ र ओमप्रकाश गुरुङले आकांक्षा देखाएका छन् । अन्नपूर्णमा मनपति भण्डारी र तरुण दलका पालिका सभापति विजय गुरुङलगायतले उम्मेदवारी घोषणा गरेका छन् । अहिले उम्मेद्वार धेरै देखिएपनि आन्तरिक तयारी पछि धेरै उम्मेद्वार नहुने बताइएको छ । सर्वसम्मतको प्रयास पनि भइरहेको छ । तर सर्वसम्मत हुने सम्भावना निकै कम देखिन्छ ।