काठमाडौं । मलेसियामा जारी यू–१९ महिला विश्वकप टी २० विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिको छ । पहिलोपटक विश्वकप खेलेको नेपाल जितविहीन हुँदै घर फर्किएको हाे ।
समूह डी मा रहेको नेपाल बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनायो । यो नेपालको लगातार तेस्रो हार हो ।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् भने अलिशा यादवले ९ रनको योगदान दिइन् । यस्तै साना प्रविनले ८ रन बनाउँदा सिमाना केसीले ६ रन मात्र बनाइन् । सावित्री धामीको ब्याटबाट ७ रन मात्र बन्यो । ज्योत्सिना मरासिनी र करिश्मा गुरुङ शून्य रनमा आउट भए । रचना चौधरी शून्य रनमा नटआउट रहिन् ।
यसअघि मलेसियाको यूकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रनको योगदान दिइन् ।
उनले ३४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४५ रन बनाएकी हुन् । इलियनर लारोसाले ३९ बलमा तीन चौका प्रहार गर्दै ३१ रन बनाइन् । हसरत गिलले ३०, क्लोइ क्याथरिनले अविजित १६ र इनेस आकेओनले आठ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान पुजा महतोले तीन विकेट लिइन् भने सिमना केसीले दुई र रिया शर्माले एक विकेट झारिन् ।
नेपाल विश्वकप डेब्यु खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा स्टकल्यान्डसँग एक रनले पराजित भएको थियो । बुधबार तेस्रो खेलमा पनि पराजित भएसँगै नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आगामी संस्करणको विश्वकप नेपालमै आयोजना गर्न लागेको नेपालले अब आगामी विश्वकप आफ्नै भूमिमा खेल्नेछ ।
प्रतिक्रिया