काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ । झडपमा घाइते भएका यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वाको विराटनगरमा उपचार भइरहेको छ ।
प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए । यस्तै एक जना प्रहरी घाइते भएकाे प्रहरीले जनाएको छ । ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका स्थानीयबासिन्दा र प्रहरीबीच हिजो झडप भएको हो ।
स्थानीयबासिन्दाले केबलकार निर्माणाधीन क्षेत्रमा ‘नो केबलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम गर्ने बताएका थिए । तर स्थानीय प्रशासनले हिजै सशस्त्र र नेपाल प्रहरी खटाएर स्थानीयबासिन्दामाथि बल प्रयोग गरेको हो । स्थानीयबासिन्दाले ढुङ्गा र गुलेली हानेपछि गोली चलाउनुपरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले आन्दोलनकारीबाट तीन वटा खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानएको छ । हिमालयन कन्सट्रक्सनले केबलकार बनाउन गएको मङ्गलवारदेखि जमिन सम्याउने काम शुरु गरेसँगै स्थानीयबासिन्दा आन्दोलनमा छन् । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको भन्दै नागरिक समाज र राजनीतिक दलका स्थानीय नेताले विरोध गरेका छन् ।
प्रतिक्रिया