ऋण लिनै हुँदैन भन्नु नेपाललाई पछि धकेल्ने कोसिस हो : शंकर पोखरेल

ऋण लिनै हुँदैन भन्नु नेपाललाई पछि धकेल्ने कोसिस हो : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको उल्लेख नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले आन्तरिक र बाह्य ऋण लिने प्रचलन सबैतिर रहेको उल्लेख गर्दै पोखरेलले ऋणको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य रहेको बताए ।

‘ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो । यो प्रकारको चिन्तन विकासविरोधी हो,’ पोखरेलले लेखेका छन्, ‘अझ आफूलाई विकासको हिमायती र योजनाकारका रूपमा चित्रण गर्नेहरूले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।’ जबकि नेपालमा सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर, नेपाल ऋणमा डुब्यो; केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदै छ । तर, नेपाल दक्षिण एसियामै कम सरकारी ऋण भएको मुलुकमध्येमा पर्दछ ।’

पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेपालको भन्दा कैयौँ गुणा बढी सरकारी ऋण भएका मुलुकहरूमा नेपालमा जस्तो सरकार ऋणमा डुब्यो भनेर हल्ला गरेको सुनिँदैन । तीव्र विकास र ठूला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर स्रोत जुटाउनु स्वाभाविक नै मानिन्छ । तर, त्यस्ता आयोजनाहरू मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्छ ।’