काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत असोज १८ देखि २३ गतेसम्म राजधानीमा सम्पन्न १५ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका थिए ।
शनिवार सानेपामा आयोजित शपथ ग्रहण समारोहमा ब्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो । मन्त्रोच्चारण र धार्मिक विधिका बीच निर्वाचन आयोगका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे । सभापति थापाले शपथ लिए पनि महाधिवेशनबाट निर्वाचित अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने तत्काल नहुने भएको छ ।
म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा
सभापति थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका हुन् । सभापति थापाले पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याए । नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया