प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई

प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमाले संविधान खारेज गर्ने पार्टी नभएको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले एमाले संविधान बनाउने पार्टी भएकाले खारेज गर्ने प्रश्न नै नउठ्ने बताएका हुन् ।

एमालेले संविधान खारेज गर्न चाहेको प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै एमाले–कांग्रेसले संविधान खारेज वा च्यात्ने नभई संरक्षण गर्ने जिकिर गरे । प्रचण्ड विध्वंस गर्दै हिँड्ने भएकाले अरूलाई पनि त्यस्तै देख्ने गरेको उनले बताए ।

भट्टराईले संवैधानिक बाटोबाटै संविधान संशोधन हुने र सबैको सहमतिमा यसलाई अघि बढाइने बताए । उनले भने, “संवैधानिक बाटोबाटै संविधान संशोधन हुन्छ । सबैको सहमतिमा यसलाई अघि बढाइन्छ । कांग्रेस–एमालेले संशोधनको एजेण्डा तयार गर्छ र एजेण्डालाई सबै दलसँग छलफल गरि सहमति खोज्छ ।”

अहिलेको संविधान सबैलाई सर्वस्वीकार्य भइसकेको उल्लेख गर्दै भट्टराईले आवश्यकता अनुसार संशोधन गरिने बताए । उनले भने, “संविधान संशोधनका लागि आन्तरिक गृहकार्य सुरु भइसकेको छ । २०८४ को निर्वाचन अघि नै संशोधन हुन्छ ।”