काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्रोह गर्छु भन्दै अराजकता मच्याउन खोज्नेहरुलाई साँगा कटाउनको लागि आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन् ।
निजामति कर्मचारी संगठनको १२ महाधिवेशन उद्घाटन गर्दै लोकतन्त्रको रक्षको लागि आन्दोलन गर्नुपर्ने हुनसक्ने बताए ।
उनले भने, ‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरु निस्किएका छन् । यदि तीनिहरुले नेपालमा अराजकता मच्याउन खोजेभने सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोजे भने देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्याउन खाजेभने त्यस्ताहरुलाई काठमाडौंबाट साँगा र थानकोट कटाउनको लागि आन्दोलन गर्नुपर्ने हुनसक्छ ।’
त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट चेतेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । उनले प्रचण्डले आफू पाँचै बर्ष प्रधानमन्त्री खाने सपना बिथोलिएपछि अहिले प्रचण्डको बेहाल भएको बताए ।
उनले भने, ‘सीट ३२ वटा, जित्या छ १८ वटा धाक कस्तो छ भनेर पाँचै वर्ष खान्छु, जादुयी नम्बर छ । जादुयी नम्बर भनेको यसको खान्छु भएन भने अर्कोको काँधमा उफ्रिएर चढ्छु । त्यो काँधमा चढेर धम्काएर खान्छु । आफू त सधैं प्रधानमन्त्री कस्तो मिठो, गज्जबको सपना देख्या। त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरुको बेहाल भएको छ । मोर्चा पनि एमाले र कांग्रेसजस्तो गरिखाने खालको बनाउनु । हात्तीको सिकार गर्छु भनेर १०/१२ वटा स्याल जम्मा भएर वरिपरि कुदेका छन् । हात्तीको छेउमा पुग्यो भने झुक्किएर कुल्चियो भने पनि च्या भन्न पाउँदैछन् ।’
उनले अहिले आफूहरु बाहिर र भित्र शक्तिहरुको घेराबन्दीमा रहेको बताए। उनले यो गठबन्धन समीकरण सहमति अनुसार अघि बढ्ने दाबी गर्दै सरकार नढल्ने बताए ।
कसैको पार्टी फुटाउनको लागि अध्यादेश ल्याउने आफ्नो कुनै योजना नरहेको उनले बताए । उनले भने, ‘अहिले पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्यो भनेर कराउँदैछन् । नाम पनि लिन्न तपाईंहरु चिनिहाल्नुहुन्छ । तीनिहरुले एमाले फुटाउन अध्यादेश ल्याएका थिए । हामीलाई कुनै अध्यादेश ल्याउनु छैन । हामी संसदबाट विधेयक ल्याउँछौं । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याएर ऐन बनाउँछौं ।’
उनले दुई तिहाइको सरकार भएको दाबी गर्दै कसैको पार्टी फुटाउँन आवश्यक नभएको जिकिर गरे । उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई लक्षित गर्दै थप भने, ‘फेरि फुटाउन पनि कुनै चट्टान फोर्ने होइन, यत्रा यत्रा गिट्टी ढुंगा फुटाएर को बस्छ। त्यो आवश्यकता छैन । सोख पनि छैन ।’
प्रतिक्रिया