काठमाडौं । पूर्व मन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन । आज शनिबार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन ।
उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे । उनले तर कति थपिन्छ वा थपिँदैन भन्ने कुरा केन्द्रिय समितिको बैठकले गर्ने पनि बताएका छन् ।
उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने पनि बताएका छन । उनले पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि बताएका छन ।
उनले भने, ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनुपर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ ।
अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ ।’ उनले थप भने, ‘त्योभन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तिमा पनि दुई वर्ष त अहिले नै छ । अहिलेदेखि नै म भनेर दौड किन लगाउनु रु योग्यतको प्रश्न छ, अहिले देखिएका जतिपनि साथीभाइहरु म म भनेर हिँड्नुभएको छ ।
उनीहरु भन्दा कुनैपनि कोणबाट, कुनैपनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन । पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने छैन । विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ ।
विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ । तर कति थपिन्छ थपिँदैन भन्नेकुरा केन्द्रिय समितिले निर्णय गर्छ । तर थपिन्छ भन्नेकुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन ।’


प्रतिक्रिया