काठमाडौं । आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि मौसमी नयाँ प्रणाली भित्रिने मौसमविद्को अनुमान छ । यसले वर्षा र हिमपात गराउन सक्ने पूर्वानुमान छ । देशको पश्चिमी क्षेत्रबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागसम्म बदली गराउने सम्भावना छ ।
आउँदो चैत एक गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीले जानकारी दिए ।


प्रतिक्रिया