काठमाडौं । सत्ता घटक दल नेकपा एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको छ । आज सोमबार मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले विशेष प्रस्ताव पारित गरेको सचिवालयको बैठक पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।
‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ । केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको उनले बताएका छन ।
बैठकपछि एमाले उपमहासचिव ज्ञवालीले भने, ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणती हो ।’
प्रतिक्रिया