राप्रपा अध्यक्ष लिङ्देन ‘बहादुरी’का साथ पछि हटे

राप्रपा अध्यक्ष लिङ्देन ‘बहादुरी’का साथ पछि हटे

सुवेदी नेतृत्वको समितिबाट नेताहरू फिर्ता बोलाउन सकेनन्


ग्लोब नेपाल
4.9k
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ‘बहादुरीका साथ पछि हटेका’ छन् । राप्रपाका वरिष्ठ नेता नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिबाट राप्रपाका नेताहरुलाई उनले फिर्ता बोलाउन सकेनन् ।

सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा सहभागी नहुने लिङ्देन एक्लो राप्रपाका नेता भए । उक्त समितिको राप्रपाले अपनत्व नलिने भनेर लिङ्देनले मिडियामा बोले पनि मंगलबार सम्पन्न कार्यसम्पादन समितिको वैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले सुवेदी नेतृत्वको जनआन्दोलन समिति मात्र होइन त्यस्ता अरु समिति बने पनि सहयोग र स्वागत गर्ने भन्दै गोलमटोल कुरा गरे ।

उक्त जनआन्दोलन समितिमा सुवेदीका अतिरिक्त, राप्रपा पूर्वअध्यक्षद्वय पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी एवं नेता हरीबहादुर बस्नेत सदस्य छन् भने उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव र महामन्त्री धवल शम्शेर राणा आन्दोलन परिचालन समितिका संयोजक तोकिएका छन् ।

‘तपाईँ चाहीँ प्रचण्ड नेतृत्वको मोर्चामा पार्टीलाई, पूर्वअध्यक्षहरु पशुपति शम्शेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई समेत कुनै जानकारी नदिई जान हुने, समान विचारधारा भएका दल, समूहसँग मोर्चा बनाउने केन्द्रीय कार्य समितिको निर्णय बमोजिम राप्रपाका नेताहरु राजसंस्था ल्याउने समितिमा सहभागी हुन किन नपाउने ?’ भनेर केन्द्रीय कार्यसम्पादन समिति वैठकमा महामन्त्री कुन्ती शाहीले र्‍याकर्‍याक्ती पारेपछि लिङ्देन नाजवाफ भए ।

राप्रपाका एक नेताका अनुसार, वास्तवमा सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिलाई सहयोग गर्ने भनेर आइतबार बसेको कार्यसम्पादन समिति वैठकमा सहमति भइसकेको हो ।

त्यसैले अध्यक्ष लिङ्देनले किन एक्लै विरोध जनाए भनेर वैठकमा आश्चर्य प्रकट गरियो । मंगलबार बसेको वैठकमा समेत जनआन्दोलन समितिको कसैले विरोध गरेनन् । लिङ्देनले बाङ्गोटिङ्गो कुरा गरे पनि जनआन्दोलन समितिको विरुद्धमा कुनै निर्णय गराउन सकेनन् । अन्ततः लिङ्देन रक्षात्मक हुन बाध्य भए ।