काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका शुरु हुनेछ ।
आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुको साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले पूर्वाधार विकास समितिको प्रतिवेदन सहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया