सभामुखलाई एमालेको प्रश्न– हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

सभामुखलाई एमालेको प्रश्न– हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?



काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका थिए ।

भट्टराईले प्रश्न गरे, ‘सभामुखज्यू, एमालेले कारबाही गरेका सांसदको पद जोगाउन र एमाले पार्टी फुटाउन किन मतियार बन्नुभयो । यसको जवाफ चाहन्छौं ।’

भट्टराईले दल विभाजनका लागि नामै नभएका ६ जना र कारबाही गरेका १० सांसदलाई समेटेर नयाँ पार्टी बनाएको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखे । ‘नियम कानूनविपरीत प्रतिपक्षलाई तल पार्न, हेप्न खोज्छ भने एमाले चुप लागेर बस्दैन । जवाफ नपाएसम्म संसद चल्न दिँदैनौं ।’

सभामुखले म जवाफ दिन तयार छु भन्दै बोले । उनले माधव नेपालसहित १४ सांसदको कारबाही सिफारिसबारे प्रचलित कानुनका आधारमा निर्णय लिएको बताए । थप जवाफ दिन अदालतले रोक्ने बताए । ‘कारबाही निर्णयको विषय हाल अदालतमा विचाराधीन छ । अदालतमा भएको कुरा बोल्न बन्देज छ,’ सापकोटाले भने । सभामुखको यो जवाफमा एमालेले चित्त बुझाएनन् । सांसदहरु रोस्टमतिर अघि बढेर नाराबाजी गर्न थाले ।