जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट रहनु : आईजीपी

जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट रहनु : आईजीपी



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् ।

आज बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले जेठ १५ गते राजावादीले गर्ने भनेको प्रदर्शनमा हाइ अलर्ट (उच्च सतर्क) रहन भने ।

थापाले भने, ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनुहोला ।’

उनले प्रदर्शनका क्रममा हुने कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने भन्दै थापाले त्यसका निम्ति सबै प्रहरी युनिटलाई तयारी हालतमा रहन निर्देशन दिए ।

पछिल्लो समय प्रहरी कर्मचारीबीच नै कुटपिटको घटना सार्वजनिक भइरहेको विषयमा उनले ड्यूटीको क्रममा वा कार्यालयको काममा पनि प्रहरी कर्मचारीले आपसमा झैझगडा गर्ने र हातपात गर्नेजस्ता अमर्यादित कार्य संगठनका लागि सह्य नहुने बताए ।